२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायकमा ठेलागाडा र बस ठोक्किँदा कुटपिट, दुई जना पक्राउ



भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक घलाटेमा आइतबार ठेलागाडा र बस एक आपसमा ठोक्किएपछि दुई पक्षबीच कुटपिट भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बसमा ठेलागाडा ठोक्किँदा विवाद उत्पन्न भएको हो। घटनापछि बसका चालक र सहचालकले ठेलागाडा चालकलाई कुटपिट गरेका थिए।

बस यात्रु चढाउने क्रममा रोकेको गाडीमा फूलको गमला बोकेको ठेलागाडा अनियन्त्रित भई अगाडिको पांग्रामा ठोक्किएको प्रहरीले जनाएको छ। घटनालगत्तै ठेलागाडा चालक आशिष श्रेष्ठले गाडीका सहचालकलाई गमलाले हानेका थिए। प्रत्यक्षदर्शीका अनुसार श्रेष्ठले चालकसँग भनाभन गर्दै स्टेयरिङमा रहेका गाडी चालकको समेत कठालो समातेपछि कुटाकुट सुरु भएको थियो।

घटनाका क्रममा गाडी आफै गुडेर ठेलागाडासहित बसमा ठोक्किएको प्रहरीले जनाएको छ। झडपमा परी घाइते भएका ठेलागाडा चालक श्रेष्ठलाई भक्तपुर अस्पतालमा उपचारका लागि लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डीराज नेउपानेका अनुसार घटनापछि गाडी चालक उज्जवल महत र घटनामा संलग्न सेक अक्टर हुसेनलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ भने गाडीका सहचालक फरार छन्।

प्रहरीका अनुसार ठेलागाडा चालक आशिष श्रेष्ठ र गाडीमा सवार सेक अक्टर हुसेन दुवैले अत्यधिक मद्यपान गरेका थिए। प्रहरीको भनाइमा, यसअघि पनि ठेलागाडा चालक श्रेष्ठको एक मोटरसाइकल चालकसँग विवाद भएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।