२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महाभोज’ फिल्म हेरेपछि प्रचण्डको राजनीतिक सन्देश : ‘अझै बाँकी छन् सामन्तवादका अवशेष’



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र महाभोज हेरेपछि सामाजिक सञ्जालमार्फत गहिरो राजनीतिक सन्देश दिएका छन्। आइतबार फिल्म हेरेपछि प्रचण्डले सामन्तवादका अवशेषहरू अझै समाजमा बाँकी रहेको र परिवर्तनको लडाइँ अन्त्य नभएको संकेत गरेका हुन्।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपप्रधानमन्त्री वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङलगायतको साथमा महाभोज हेरेका प्रचण्डले फिल्मलाई “तथ्यपरक, सन्देशमूलक र चाखलाग्दो“ भनेका छन्।

फिल्म हेरेपछि उनले लेखेका छन्, “त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। यही देशमै केही गर्नुपर्छ भन्ने अठोटसहित परिवर्तनका योद्धाहरू अझै लडिरहेका छन् र एक दिन समाज रूपान्तरण गरेरै छाड्छन् भन्ने सन्देश चलचित्रले दिन खोजेको छ।”

फिल्ममा कलाकारको जीवन्त अभिनय र निर्माण टिमको प्रस्तुति प्रति धन्यवाद दिँदै उनले आजको पुस्ताले यो फिल्म हेर्न र बुझ्न आग्रह गरेका छन्। दिनेश राउत निर्देशित महाभोज चलचित्रले सहकारी क्षेत्रको संकट र शान्ति प्रक्रियामा गएका पूर्वलडाकुहरूको कथा बोकेको छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ लगायतको अभिनय छ।

पूर्वमाओवादी लडाकुहरूको आर्थिक क्रान्तिको यात्रालाई चित्रण गर्ने यस फिल्मले सहकारीलाई आर्थिक संघर्षको माध्यम बनाउने प्रयास गरिएकाले राजनीतिक विचारधारासँग समेत जोडिएको देखिन्छ।

 

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।