काठमाडौं । यस वर्षको साउने सोमबार पशुपतिनाथ दर्शनमा आउने भक्तजनलाई पहिलोपटक निःशुल्क यातायात सेवा उपलब्ध गराइने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले धार्मिक तथा सांस्कृतिक पत्रकार समाज (रेक्जोन) का नवनिर्वाचित पदाधिकारीहरूसँगको अन्तरक्रियामा उक्त जानकारी दिएका हुन्।
साउन ५ गते पहिलो सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमी भक्तजनलाई पशुपति पुर्याउनेछन्। तीमध्ये दुई बस गीता प्रेसको नेपालस्थित बुक डिपो र दुई बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले उपलब्ध गराउने छन्। सेवा बिहान ४ बजेदेखि प्रारम्भ हुनेछ।
कोषले साउने सोमबारको भीडलाई व्यवस्थित गर्न दर्शन प्रणालीलाई चुस्त बनाउने जनाएको छ। भक्तजनले एक घण्टा भित्र दर्शन सकेर फर्कन सक्ने गरी व्यवस्थापन गरिनेछ। मूल मन्दिरमा भीड नहोस् भनेर चारै ढोका बिहान ३ बजेदेखि नै खुल्नेछन्।
नेपाली सेनाको सहयोगमा मूल मन्दिर वरिपरि टेन्ट राखिनेछ भने निःशुल्क स्वास्थ्य शिविर, पानी तथा प्रसाद वितरणको पनि व्यवस्था हुनेछ। सुरक्षाको जिम्मा प्रहरी वृत्त गौशालाले लिनेछ।
पशुपतिनाथमा यस वर्षको साउने सोमबार विशेष पूजा गर्ने भक्तजनको संख्या ७ हजार ५०० भन्दा माथि हुने अनुमान गरिएको छ। पत्रकारहरूलाई सहज सूचना प्रवाह तथा ‘मिडिया सेन्टर’ को मागसमेत कार्यक्रममा उठाइएको थियो।








प्रतिक्रिया