२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा



काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अगुवाइमा विश्व सम्पदास्थल स्वयम्भूमा एक महिने गुँला पर्व मेलाको पूर्वसन्ध्यामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म चल्ने गुँला पर्व मेलालाई लक्षित गरी स्वयम्भू क्षेत्रका मन्दिर, चैत्य तथा वरिपरिका जङ्गलहरूमा सरसफाइ गरिएको हो। कार्यक्रममा स्थानीय संघसंस्था, स्वयंसेवक तथा धर्मावलम्बीहरूको सक्रिय सहभागिता रहेको थियो।

महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरका अनुसार सरसफाइबाट सङ्कलन गरिएको फोहरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनःचक्रणका लागि पठाइएको छ भने कुहिने फोहर मात्र ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै उनले स्वयम्भू परिसरमा सरसफाइसँगै रङरोगन, सडकबत्ती जडान लगायतका व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिए।

महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए अनुसार नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले मनाउने गुँला पर्वको अवसरमा भक्तजनहरू स्वयम्भू चैत्यमा पूजा, दर्शन, धर्मकर्म तथा पुण्य कार्य गरेर दिवङ्गत पितृको मोक्षको कामना गर्छन्। नेपाल संवतको नौ महिनामा पर्ने यस पर्वका क्रममा विभिन्न प्रकारका बाजा बजाउँदै चैत्य परिक्रमा गर्ने परम्परा रहेको छ।

काठमाडौं उपत्यका तथा वरिपरिका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु गुँला पर्व मेलामा सहभागी हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।