काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद जबराले उक्त घटनामा राज्यको कमजोर सुरक्षा संयन्त्र जिम्मेवार रहेको आरोप लगाए। साथै उनले सरकारले राजावादी विचार राखेकै आधारमा झुटा मुद्दा लगाएको भन्दै कडा आपत्ति जनाए।
“राजावादी भनेर नागरिकमाथि अन्यायपूर्ण ढंगले झुटा मुद्दा लगाउने काम बन्द हुनुपर्छ,” जबराले भने, “सरकारको यो कार्यले अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको देखिन्छ।”
उनले घटनामा संलग्न भन्दै पक्राउ परेका राप्रपा तथा राजसंस्था पक्षधर नेताकार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न माग गरे। साथै उनले न्यायपालिकाबाट सत्यतथ्यमा आधारित न्याय हुनेमा विश्वास रहेको बताए।
सांसद जबराले प्रतिनिधिसभाबाटै छानबिन समिति बनाएर घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। चैत १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। त्यसपछि धेरै कार्यकर्ताहरू पक्राउ परेका थिए।








प्रतिक्रिया