भक्तपुर
राजधानीको ठिमी र कलंकीमा सुन लुटपाट गर्ने युवाहरु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ लामपाटीस्थित सडकमा यसै ठाँउकी एक पीडितको सुनको सिक्री लुटपाट गरी वक फरार भएका थिए ।
लुटपाट गर्ने युवकलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न युवक काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका ४ घर भएका ३१ वर्षीय दीपेश लम्साल रहेको प्रहरीले पुष्टि गरेको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मध्यपुर थिमीमा पनि यस्तै घटना घटेको छ ।
नक्कली सुन देखाई ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका ८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
उनीहरुले २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका ६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भन्दै भक्तपुर इबामोरा चोक नजिक बोलाइएर उनको साथबाट १२ लाख रूपैयाँ लिएका थिए ।
साथै २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिएर भागेका थिए ।
घटनाको अनुसन्धान गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर. भक्तपुर पठाइएको छ ।








प्रतिक्रिया