२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाभारत गाउँपालिकाबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार



काभ्रे । काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका–१, गोकुलेकी २१ वर्षीया रेनुका लुङ्गेलीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टर प्रयोग गरी समयमै उद्धार गरिएकाले आमा र नवजात शिशुको ज्यान जोगिएको हो।

रेनुकालाई सोमबार साँझ सुत्केरी बेथा लागेपछि गोकुले स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। तर अवस्था जटिल बन्दै गएपछि मंगलबार हेलिकप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगिएको हो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार, उद्धार राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा गरिएको हो।

बारम्बार हेलिकप्टरमा उद्धार
यसअघि साउन ११ गते महाभारत–७, बनखुकी २८ वर्षीया गर्भवती देवकुमारी पाख्रिनको पनि यस्तै अवस्थामा हेली एम्बुलेन्समार्फत उद्धार गरिएको थियो।

महाभारत गाउँपालिकाका अधिकांश सडक कच्ची छन्। हालको वर्षाका कारण सडक हिलाम्य र जोखिमपूर्ण भएका छन्। नियमित एम्बुलेन्स सञ्चालन असम्भव भएपछि हेलिकप्टरमार्फत उद्धार गर्नु बाध्यता बनेको हो।

पालिका अध्यक्ष जिम्बाले भने, “राष्ट्रपति महिला उत्थान कार्यक्रमले हाम्रो जस्तो दुर्गम क्षेत्रमा अत्यन्तै जीवनरक्षक भूमिका खेलेको छ। ग्रामीण महिलाहरूको जीवन रक्षा गर्न यस कार्यक्रम प्रभावकारी बनेको छ।”

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ११ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।