काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मिलनचोकस्थित एक घरमा आज बिहान आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
नारायण कृष्ण रसाईलीको साढे दुई तले घरको छतमा जस्ताले बनाइएको टहरोमा ग्यास लिक भई आगलागी भएको हो। आगलागीका कारण टहरो पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटना जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको कमाण्डमा खटिएको टोलीले स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो।
आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी बल, कागेश्वरी मनोहराका नगर प्रहरी, नेपाली सेनाको रामहिटी र दक्षिणढोकास्थित दमकलसमेत परिचालन गरिएको थियो।
प्रहरीका अनुसार मानवीय क्षति भने नभएको छ। आगलागीको थप विवरण र क्षतिको यकिन मूल्यांकन कार्य जारी रहेको छ।








प्रतिक्रिया