काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दुर्घटनामा काभ्रेको रोशी गाउँपालिका–३ घर भइ कोटेश्वर बस्दै आएका २५ वर्षीय नवराज तुमसिंह मगरको ज्यान गएको हो ।
बुधबार राति करिब पौने ९ बजे जडीबुटीबाट पेप्सीतर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार मगरको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकलका चालक २६ वर्षीय सन्तोष मगर घाइते भएका छन् । उनी पनि काभ्रेको रोशी गाउँपालिका निवासी हुन् ।
ट्याङ्कर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया