काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनीत नयाँ नेपाली फिल्म ‘गुन्यो चोलोः द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा तेस्रोलिंगी पात्रको जीवन संघर्ष प्रस्तुत गरिएको छ।
फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा आफ्नो पहिचान खुलाउन चाहने पात्र र त्यसलाई स्वीकार गर्न नसक्ने परिवारबीचको द्वन्द्व देखाइएको छ।
फिल्मको निर्देशन समुन्द्र भट्टले गरेका हुन्। चलचित्रमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय रहेको छ।
लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित यो फिल्म नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा निर्माण गरिएको हो।
फिल्मको पोस्ट-प्रोडक्सनको सम्पूर्ण काम विदेशमा गरिएको छ। हलिउडकी गायिका लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन्।
यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ। आलोक शुक्लाले छायांकन गरेको फिल्म अमेरिकाको प्रतिष्ठित ‘तस्वीर फिल्म मार्केट’मा समेत छनोट भएको थियो।
आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माताको भूमिकामा छन्।
‘गुन्यो चोलोः द ड्रेस’ भदौ १३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।








प्रतिक्रिया