२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘परालको आगो’ मा सौगात मल्ल अनुबन्ध, जुठे धमाईको भूमिकामा देखिने



काठमाडौं । कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। उनी चलचित्रमा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्।

निर्माण टिमका अनुसार, सौगात मल्ल बिहीबार औपचारिक रूपमा अनुबन्धित भएका हुन्। यसअघि अभिनेता तथा हास्यकलाकार जितु नेपाललाई उक्त भूमिकाका लागि अनुबन्ध गरिएको थियो। तर छायांकनको अन्तिम तयारीको समयमा उनी चलचित्रबाट बाहिरिए।

निर्माण पक्षका अनुसार जितु नेपालले कथामा अनावश्यक हस्तक्षेप गर्न खोजेपछि उनी बाहिरिनुपरेको हो। तर नेपालले भने यस्तो आरोप अस्वीकार गर्दै आपसी सहमतिमा आफू बाहिरिएको र साइन गर्दा लिएको पारिश्रमिक समेत फिर्ता गरिएको बताएका छन्।

जितु नेपालको बाहिरिएसँगै सौगात मल्ललाई अनुबन्ध गरिएसँगै चलचित्रका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको निर्माण टिमले जानकारी दिएको छ।

निर्माता सुशील पोखरेलको लगानीमा तयार हुँदै गरेको चलचित्रमा सौगात मल्लसँगै प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ पनि अभिनय गर्नेछन्।

चलचित्र सामाजिक सन्देश दिने उद्देश्यका साथ तयार भइरहेको निर्माता पोखरेलले जानकारी दिएका छन्। फिल्मको छायांकन संकल्प भुजेलले गर्नेछन् भने निर्देशन लक्ष्मण सुनारले सम्हाल्नेछन्।

म्याग्दी आसपासका स्थानहरूमा आगामी भदौ २६ गतेदेखि छायांकन सुरु हुने जनाइएको छ।

गुरु प्रसाद मैनालीको कथा संग्रह ‘नासो’ मा समावेश ‘परालको आगो’ कथा यसअघि पनि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म बनाएका थिए। नयाँ फिल्म निर्माणका लागि मैनाली कथा पुरस्कार ट्रस्टबाट औपचारिक अनुमति लिइएको निर्माण टिमले जानकारी दिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।