कास्की
राष्ट्रिय कोदो दिवसको अवसरमा महानगरले चार जना कोदो उत्पादक किसानलाई नगदसहित सम्मान गरेको छ ।
पोखरामहानगरभित्र सबैभन्दा बढी कोदो फलाउने किसान सम्मानित भएका हुन् । लामो समयदेखि कोदोखेती गर्दै आएका चार जना किसानलाई महानगर प्रमुख धनराज आचार्यले सम्मान गरेका छन् । कार्यक्रमस्थलमा कोदोजन्य बालीका परिकारको प्रदर्शनी गरिएको थियो ।
पोखरामा १२ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२१ का कर्णबहादुर थापालाई नगद रु १० हजारसहित सम्मान गरिएको छ । यसैगरी आठ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२८ की अम्बिका भण्डारी नगद रु सात हजारसहित पुरस्कृत भइन् ।
करिब १० रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२३ का सचेन गुरुङ रु पाँच हजारसहित र आठ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–१६ की बबिता गुरुङ रु तीन हजारसहित सम्मानित भए ।
कोदोका परिकार प्रदर्शनीतर्फ करुङे कृषक समूह पोखरा–२२ प्रथम हुँदै रु १० हजार पुरस्कार प्राप्त गरेको छ । अन्नपात एग्रो प्रालि द्वितीय हुँदै रु सात हजार तथा नमूना प्राङ्गारिक कृषि सहकारी र जैविक स्रोत संरक्षण अभियान सान्त्वना हुँदै क्रमशः रु पाँच हजार र तीन हजार पुरस्कार पाएका छन् ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले परम्परागत बालीको संरक्षण तथा विकासका लागि महानगर प्रतिबद्ध रहेको बताउनुभयो । “रैथाने बाली उपेक्षित बन्दै गएको छ । लोपोन्मुख अवस्थामा पुगेका बालीहरूको संरक्षण तथा किसानलाई आकर्षित गर्ने अभियानमा महानगर छ”, मेयर आचार्यले भने ।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवद्र्धन, किसानको आम्दानी वृद्धि, कोदोखेतीप्रति किसानको आकर्षण वृद्धि गर्ने उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरेर मनाइएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताएका छन् ।
कोदोखेतीको विस्तार, प्रवद्र्धन र किसानको आकर्षण बढाउन महानगरपालिकाले न्यूनतम समर्थन मूल्यसमेत उपलब्ध गराउँदै आएको कडरियाले जानकारी दिएका छन् ।








प्रतिक्रिया