२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दर्शनार्थी सवार माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १४ घाइते



काठमाडौं । खोटाङको हलेसीबाट बोलबम मेला सकेर फर्किंदै गरेका दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस सोमबार बिहान करिब ८ बजे हलेसी तुवाचुङ नगरपालिका–७, कदुवास्थित डौँठेखोलानजिकैको जयराम–हलेसी सडकखण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। माइक्रोबसमा चालकसहित १६ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएकामध्ये ६ जनालाई अवस्था गम्भीर भएकाले काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। अन्य ८ जनाको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार, दुर्घटनास्थलमा झाडी र बुट्यान रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ। साउन महिनाभर लाग्ने बोलबम मेला भर्नका लागि दर्शनार्थीले निजी तथा भाडाका सवारी साधन प्रयोग गर्दै हलेसी पुग्ने गरेका छन्। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिकस्थल हलेसीमा अहिले श्रद्धालुको भीड लागेको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।