काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। धार्मिक र ऐतिहासिक हिसाबले महत्त्वपूर्ण यो सम्पदाको संरक्षण र प्रवर्द्धन कसरी गर्ने भन्नेबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बैठकले कार्यदल बनाएको हो।
कार्यदलमा पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, गुठी संस्थान, काठमाडौं महानगरपालिका, सुरक्ष निकाय लगायतका प्रतिनिधिहरू छन्। समितिको संयोजक कोषका निमित्त उपनिर्देशक ईश्वरमान भण्डारी छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
यो शिवालय क्षेत्र वाग्मती नदी किनारमा छ, जुन अहिले क्रमशः भासिँदै गएको छ। त्यसैले आरतीका कार्यक्रमहरूमा धेरै मानिस सहभागी हुन नदिन पत्राचार गरिएको छ। पुरातत्व विभागका अनुसार, तल नदीले बालुवा बगाउने र माथिबाट मानिसको भीडले थिच्ने कारण संरचना कमजोर बन्दै गएको छ। विभागले यस्तो संवेदनशील क्षेत्रमा भीडभाड गरेर आरती गर्नु उपयुक्त नभएको भन्दै विकल्प खोज्न सुझाव दिएको छ। पशुपतिनाथको मूल मन्दिरभित्र हुने परम्परागत आरतीबाहेक अन्यत्र हुने गतिविधिले सम्पदामा हानि पुर्याउन नहुने विभागको भनाइ छ।








प्रतिक्रिया