२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपतिनाथमा आज पवित्रारोहण गरिँदै



काठमाडौँ
श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ ।

आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ ।
कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिएका छन् । पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।

भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि गोसाइँकुण्डमा जानुहुने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन् ।
आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो ।

 

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।