२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


देशभर गाईजात्रा पर्व धुमधामका साथ मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा



काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विशेष रूपमा मनाइँदैछ। विशेषगरी काठमाडौँ उपत्यकामा रङ्गिन झाँकी, हास्यव्यङ्ग्य, नाचगान र व्यङ्ग्यात्मक कार्यक्रमका साथ पर्वलाई थप रौनक दिइएको छ।

गाईजात्रा पर्व एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ। यस दिन गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराइन्छ भने सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र नगद दान गरिन्छ। धार्मिक विश्वास अनुसार यसरी नगरपरिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सहज हुन्छ।

पर्वको सुरुवात मल्लकालीन राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई संसारभरका सबैले दुःख भोग्नु पर्ने देखाउन र रानीको मन शान्त पार्न उनले दिवङ्गत व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। त्यसपछि हास्यव्यङ्ग्य र प्रहसनको प्रचलन पनि यो पर्वमा समावेश भएको मानिन्छ।

प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा अझै कायम छ। गाईजात्रा पर्व नेवार समुदायका बसोबास रहेको बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायतका सहरमा पनि उत्साहका साथ मनाइन्छ।

यस पर्वले समाजका विकृति र विसङ्गतिहरूलाई हास्यव्यङ्ग्य मार्फत उजागर गर्दै सचेतना फैलाउने भूमिका निर्वाह गर्छ। सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।