काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का बान्टमवेट च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। त्यस्तै, पहिलो पटक विश्वकप फाइनल खेलेको खोखोको महिला र पुरुष उपविजेता टोलीलाई ११–११ लाख गरी जम्मा २२ लाख रुपैयाँ चेकसहित सम्मान गरेको छ।
नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको प्रतियोगितामा भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्। यो उपाधि जितेर उनी पहिलो पटक विश्वस्तरको एमएमए च्याम्पियन बनेका नेपाली फाइटर हुन्।
खोखोको पुरुष टोलीले नयाँ दिल्लीमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ र महिला टोलीले ७८–४० ले पराजय बेहोरे पनि उपविजेता बनेको थियो। नेपाल खोखो संघले रकम व्यवस्थापन गर्नेछ।
सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले महानगरपालिकाले खेलाडी र टोलीलाई निरन्तर सम्मान गर्दै आएको बताउँदै भविष्यमा पनि यसलाई जारी राख्ने बताए।
रवीन्द्रले महानगरपालिकाको सम्मानले थप हौसला पाएको र आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे। खोखो टोलीका कप्तानले पनि सम्मानप्रति खुशी व्यक्त गर्दै गुरुहरू र शुभचिन्तकप्रति धन्यवाद दिएका छन्।
यो कार्यक्रम काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजक लगायतको उपस्थितिमा सम्पन्न भयो।








प्रतिक्रिया