काठमाडौं । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग दस्तुर प्रस्तावित भन्दा बढी तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साना सवारीको दस्तुर घटाएर ठूला सवारीको शुल्क बढाएको हो।
सडक बोर्डले वैज्ञानिक अध्ययनको आधारमा शुल्क निर्धारण गरेको बताउँदै, सुरुङमार्ग प्रयोग गर्दा सवारीसाधनले इन्धन, समय र मर्मत खर्चमा करिब ७० प्रतिशत बचत हुने दाबी गरेको छ।
निर्देशिका अनुसार, कार/भ्यान/जीप/पिकअप/माइक्रोबस काठमाडौँ प्रवेशमा प्रतिपटक ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनिबस, मिनिट्रक र टिपरको प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ। बस र ट्रकको शुल्क क्रमशः प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ। भारी सवारीको हकमा प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर लाग्नेछ।
सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले भने, “सुरुङमार्ग प्रयोग बाध्यात्मक छैन, स्वेच्छिक हो। यसबाट सवारीधनीले इन्धन, समय र मर्मत खर्चमा उल्लेखनीय बचत गर्न सक्नेछन्।”
सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन, नन–मोटराइज्ड सवारी तथा जोखिमयुक्त मालसामान बोकेका सवारीसाधन प्रवेश गर्न पाउने छैनन्। सुरुङमार्गमा सवारीको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा तोकिएको छ।
२.६ किलोमिटर लम्बाइको सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँ–सिस्नेखोलाको सडक दूरी ८ किलोमिटर छोटिनेछ। मार्गको भौतिक प्रगति हाल ९३ प्रतिशत पुगेको छ र आगामी पुस–माघभित्र सञ्चालनमा आउने योजना रहेको छ।
संकलित शुल्क सुरुङमार्गको मर्मतसम्भार, सञ्चालन र व्यवस्थापनमा खर्च हुनेछ। प्रारम्भका पाँच वर्षमा भने निर्माण कम्पनीले मर्मतसम्भार गर्ने सम्झौता गरिएको छ।








प्रतिक्रिया