काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले उक्त जानकारी दिएका हुन् ।
“नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्री ओलीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।
सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकले आउँदा रु २६० र फर्कँदा रु २०० तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।








प्रतिक्रिया