काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाअ) को नाफामा चालु आर्थिक वर्षमा उल्लेखनीय गिरावट आएको छ। प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आर्थिक वर्ष २०८१/८२ मा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ मात्र भएको जानकारी दिए।
यो नाफा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशत कम हो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो। सन् २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा छ।
प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशत बढी हो। अन्य स्रोतसहित कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड पुगेको छ।
सोही अवधिमा प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढ्दै ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ।
हाल प्राधिकरणले निजी क्षेत्रका २०४ आयोजना मार्फत २९२९ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। त्यस्तै, १४२ आयोजना ४३०३ मेगावाट क्षमतासहित निर्माणाधीन छन् भने १४८ आयोजना विभिन्न चरणमा छन्, जसको कुल क्षमता ४२०३ मेगावाट हुने प्राधिकरणले जनाएको छ।
२०८१/८२ मा मात्रै ३१ निजी प्रवर्द्धकसँग ९३२ मेगावाटका जलविद्युत् आयोजना र ८ प्रवर्द्धकसँग १७० मेगावाट क्षमताका सौर्य आयोजना खरिद सम्झौता (पीपीए) भएको छ। हालसम्म निजी प्रवर्द्धकसँग कुल ११ हजार ४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ।








प्रतिक्रिया