काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा गएराति स्कुटर र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार दुर्घटनामा सिराहाको जम्दह–४ निवासी २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय एक युवकको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो।
दुर्घटना शनिबार राति पौने २ बजेतिर बुढानिलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोकमा भएको थियो। गोल्फुटारतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र बुढानिलकण्ठबाट गोल्फुटारतर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनामा गोरखाको आरुपोखरी घर भई हाल बुढानिलकण्ठ–८ भंगाल बस्दै आएका २४ वर्षीय एरिक परियारसहित तीन जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमध्ये एकले कालो ट्याक र निलो टी–सर्ट लगाएका छन् भने अर्काले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएको प्रहरीको भनाइ छ।
दुर्घटनापछि प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको नेतृत्वमा गएको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो। हाल दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया