२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेका ८ सय ७७ परिवारलाई ५० वर्षपछि लालपूर्जा वितरण



काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेको हो ।
विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए ।
प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।
यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए ।
कार्यालयका अनुसार हाल दुई वडाको ४ सय ५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३ सय र वडा ८ मा ६ सय लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिएका छन् ।
साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो ।
तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।