काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण बुधबार प्रतिनिधिसभामा हुने प्रधानमन्त्री–सांसदबीचको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, बर्तौलाले बैठकमा “स्वास्थ्यका कारण प्रधानमन्त्री आज संसद बैठकमा आउन सक्नुहुन्न” भनेर जानकारी गराएका थिए।
यसैबीच बुधबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी सत्तारूढ दलले गरेको छ। प्रतिपक्षी दलहरूले मंगलबार बसेको संयुक्त बैठकको निर्णयअनुसार सत्तापक्षको प्रयासको कडा प्रतिवाद गर्ने भएका छन्।
संसदको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि राजनीतिक तनाव र महाभियोग प्रस्तावको विषयले संसद् हलमा थप चासो सिर्जना गरेको छ।








प्रतिक्रिया