भक्तपुर । भक्तपुरमा आज नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व धुमधामका साथ मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीका दिन यो पर्व विशेष श्रद्धा र उल्लासका साथ मनाउने परम्परा रहिआएको छ।
पञ्चदान पर्वमा भक्तपुरका पाँच प्रमुख बिहार काठमाडौंको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका दीपङ्कर बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने गरिन्छ। त्यहाँबाट बुद्धलाई नगर परिक्रमा गराइ विभिन्न गुठी र स्थानीयहरूले दर्शन गरी पूजा गर्ने परम्परा छ।
यस अवसरमा अन्न, गेडागुडी, फलफूल, सख्खर पानी (सर्वत) र औषधि दान गर्ने प्रचलन छ। परम्पराअनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिइन्छ भने पाँच दीपङ्कर बुद्धलाई धान, मकै, गहुँ, भटमास, नून, घिरौला, बोडी, काँक्रो लगायत जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु अर्पण गर्ने गरिन्छ।
भक्तपुरवासीहरूको धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको प्रतिकका रूपमा पञ्चदान पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।








प्रतिक्रिया