ललितपुर
विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ ।
सो घण्ट सँगै व्यापारीहरुले पसल सञ्चालन गरेका कारण पुर्ननिर्माणमा समस्या छ । लामो समयदेखि ऐतिहासिक सम्पदास्थलमा उनीहरुले अड्डा जमाएर बसेका कारण घण्ट पुर्ननिर्माणमा समस्या परेको छ ।
विसं २०७२ को भूकम्पले क्षति पुर्याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउनसमेत बन्द गरिएको छ ।
काठमाडौँ उपत्यकाका दरबार स्क्वायरमा रहेका घण्टमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा ठूलो मानिन्छ । स्थानीयका अनुसार भूकम्पले क्षति पुर्याएपछि यो पूर्वतिर ढल्किएको अवस्थामा छ । जीर्ण अवस्थामा अडिएको यो घण्ट जुनसुकै बेला ढल्न सक्ने स्थिति छ । ऐतिहासिक घण्ट जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणको माग गर्दै पुरातत्व विभाग र युनेस्कोलाई पत्र बुझाएको पाटन दरबार स्क्वायर टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान बताउछन् ।
घण्टको जगसँगै सटाएर स्थानीय व्यवसायीहरु विसं १९५८ सालदेखि पसल सञ्चालन गर्दै आएका छन् ।
ती पसल नहटाइएसम्म ऐतिहासिक घण्टको पुनर्निर्माण सम्भव छैन । यसको संरक्षणका लागि ललितपुर महानगरपालिका, पुरातत्व विभागलगायत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।
गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख जितेन्द्र चित्रकारका अनुसार पाटन दरबार क्षेत्रमा केही स्थानीयले पुस्तौँदेखि व्यापार सञ्चालन गर्दै आएका छन् । व्यापारीले पुस्तौँदेखि व्यापार गर्दै आएको र गर्न पाउनुपर्छ भन्छन् । ती बनाइएका भवन नहटाइएसम्म ऐतिहासिक घण्ट पुनर्निर्माण गर्न सम्भव छैन ।
व्यापारीलाई प्रमाणसहित आउन गुठी संस्थान कार्यालयले पत्रचार गरेको समेत छ । कार्यालय प्रमुख चित्रकार का अनुसार प्रमाणसहित आएको खण्डमा समस्याको समाधान हुन्छ ।
घण्टलाई अहिले नै पुनर्निर्माण नगरिएमा यसको खम्बा ढल्न सक्ने र घण्ट टुटफुट भएमा फेरि ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने अवस्था छ । घण्ट बजाउँदा त्यसको कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि यो घण्ट बजाइएको छैन ।
उनका अनुसार पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि अझै कुनै पहल नभएको बताउछन् ।
मल्लकालीन समयमा स्थापना गरिएको उक्त घण्ट १७६९ सालमा निर्माण गरिएको मानिन्छ । विसं २०७२ को भूकम्पका समयमा यो घण्ट नबजेको स्थानीय उपेन्द्रकुमार श्रेष्ठ बताउछन् । विशेषतः हरेक वर्षको दसैँको जमरा राख्ने दिनदेखि दसैँका दिनसम्म यस घण्टा बजाएर पूजाआजा गर्ने गरिन्छ । उनका अनुसार राणाकालीन समयमा पाटन सहरका सबै मानिस सुत्नुपर्छ भन्ने मान्यताअनुसार राति १२ः०० बजे यो घण्ट बजाइन्थ्यो । घण्ट बजेपछि राति १२ः०० बजेपछि कोही पनि बाहिर निस्कन हुन्नथ्यो । अनि बिहान ४ः०० बजे फेरि घण्ट बजाइन्थ्यो, त्यसपछि सबैजना उठेर आआफ्नो काममा लाग्थे ।








प्रतिक्रिया