२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षा : जनै होइन सम्बेदना हरायो, ‘कमजोर छ सम्बन्धका धागो’



ललितखबर/ललितपुर

हाम्रो समाजमा ब्राम्हणको कला संस्कृती र परम्परा चर्चा नै गरिन्न । चर्चा भइहाले पनि खिसिठिउरी गरेर पटरे भनेर अपमान गरिन्छ । बाहुनले जनै लगाएकोे देखे आलोचना गरेको सुनिन्छ । धेरै युवाहरु जनै नलगाउनुमा गर्व गरेको देखिन्छ ।

ब्राम्हण बाहेक हरक जनजातीको जातीय संस्कृतीको संरक्षणको जागरण ल्याइएको नेपाली समाजका लागि ब्राम्हण धर्म परम्परामा आधारित चलचित्र निर्माण गरिएको छ जनै हराएको मान्छे । जुन चलचित्र पछिल्लो भाद्र ६ गतेदेखि प्रर्दशनमा आएको छ ।

कथासार
ब्राम्हण कुलमा जन्मेको विजय बराल(सिताराम)ले कोरिया जाने सपना पालेको छ । पुरेत्याई गर्ने आफ्ना बा भोलाराज सापकोटा (चिन्तामणी) छोरोले परम्परा धानोस् भन्ने चाहन्छन् तर सिताराम अधिकारी कोरिया गएर धेरै पैसा कमाउन चाहन्छ । बा लाई ढलानको घरमा राख्ने उसको सपना छ ।


कोरिया जाने सपना पुरा गर्न उ सहर पस्छ । भाषा सिक्ने उनको इन्छाविपरित अनेकौं परिबन्धमा पर्छ । एउटा सोझो ब्राम्हण सितारामको सहरी संर्घष नै जनै हराएको मान्छेको कथासार हो । केकी अधिकारी (शान्ति) र यात्रामा भेटिएकी मिरुना चलचित्रमा छोटो भूमिकामा छन् ।

निर्देशन

चलचित्रको निर्देशन पक्ष खासै प्रभावकारी छैन । निर्देशक हिमाल न्यौपाने पात्रहरको प्रभावकारी चरित्र चित्रणमा ध्यान दिएका छैनन् । पात्रहरुको अभिनयलाई जीवन्त बनाउन मेहनत नगरेको भान हुन्छ । कथाको संवादहरु कलाकारहरुले क्यामेरा अगाडि आएर भटाभट बोलिदिएको जस्तो अनुभव हुन्छ । कलाकारहरुको अभिनयमा जीवनशैली छैन । पात्रको चरित्र फिक्का छ । पात्रहरुको अनुहारमा अभिनयहरुको भाव छैन । प्रविधिक पक्षलाई दरिलो बनाइएको छैन । संगीत, द्वन्द्व हास्यरसलाई ध्यान दिइएको छैन । चलचित्रमा निर्देशक,प्रमुख सहायक निर्देशक, पहिलो निर्देशक र सहायक निर्देशकहरुको जम्बो टोली नै चलचित्रमा काम गरेको भए पनि हरेक पक्ष केदाउदा निर्देशकीय पक्ष दह्रो भेटिदैन ।

सुन्दर पक्ष
जनै हराएको मान्छेले वाव ुछोरा, आमा छोरा,भाई र दिदीको सम्बन्धलाई केलाएको छ । ४२ प्रतिशत जनसंख्या रहेको ब्राम्हण क्षेत्रीले धानिरहेको संस्कृतमिाथिको यस चलचित्रले आउँदो पुस्तालाई आफ्नो धर्म संसकृती र परम्परा धान्न प्ररित गर्छ ।
धर्म संस्कृती र परम्परा नमान्दा आइपर्ने विपत्तीलाई मुल आधार बनाइएको चलचित्र धेरै अघि बन्नु पर्ने विषयवस्तु थियो । गाँउबाट सहर आएर संर्घष गरिरहेका युवाहरुलाई यो चलचित्र मन छुन्छ । चलचित्रको मध्यन्तरपछि दर्शकलाई अड्याउन सक्छ ।

कमजोरी
लेखक भानुभक्त ढकालले चलचित्रको कथा दर्शक रुवाउनका लागि लेखेको प्रतित हुन्छ । हरेक दृश्यहरुमा दुःखद क्षणहरुमात्रै समेटिएको छ । चलचित्रमा पात्रहरुको जीवनको जुन कालखण्ड देखाइएको हुन्छ । ती जीवनका क्षणहरुमा आउने सुख र दुःखका क्षणलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छैन । पात्रहरुमा जीवन्तता भेटिन्न ।
एकोहोरो दिक्कलाग्दो (मनोनोटन) दुःखका कथा मात्रै गुथिएको छ ।

चलचित्रको सुरु भएपछि कथाकार भानुभक्त ढकालले दर्शक रुवाउने कसरत सुरु गरेका छन् । थोरै ठाँउमा मन छुन्छ तर कतिपय ठाँउमा उनको प्रयास फिक्का लाग्छ ।
चलचित्रले हलमा दर्शकलाई बााधेर राख्न सक्दैन । अब के होला ? भन्ने कौतुहलता जाग्दैन ।
चलचित्रको दृश्यहरुमा कलात्मक क्षमता मिसावट छैन । एकोहोरो र चर्को संवाद बोलिएको छ । सिनेमाट्रिक लिवर्टीको प्रयोग छैन । चलयमान दृश्य, मिठासपूर्ण आवाज, संगीत कलात्मक र प्रकृतीसँग नजिक भएर दृश्यभाषा श्रृजना गरिएको छैन । सस्पेन्स र थ्रिलर नहुँदा चलचित्र कुनबेला सकिएला जस्तो लाग्छ ।
पूर्ण बहादुरको सारंगीबाट पे्ररित यस चलचित्र जर्वजस्ती रुवाउन विभिन्न परिस्थिती निर्माण गरिएको झैं लाग्छ । चलचित्रका दृश्यहरु पनि साविकभन्दा अध्यारा छन् । उज्जला र चम्किला दृश्यहरु चलचित्रमा देख्नै पाइन्न । चलचित्रमा रमाइलो लाग्ने र खुशी हुने ठाँउ नै भेटिन्न । चलचित्रको विषयवस्तु र कथा अनुसार जनै हराएको वाहुन नै राखिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
चलचित्रले सहायक कलाकारहरुको पृष्टभूमि बोल्दैनन् ।


विजय बराल
जीवन्त अभिनयमार्फत मन जितेका अभिनेता विजय बराल यस चलचित्रमा खासै प्रभावकारी अभिनय क्षमता देखाएका छैनन् । चलचित्र हेरिरहँदा विजय बरालको अभिनय फिक्का फिक्का लाग्छ ।
उनले फरक चरित्रलाई डोहो¥याएको देखिन्न । एउटा सोझो अबोध बाहुन केटो बन्न अभिनयमा मेहनत गरेका छैन । चलचित्र हेरिरहँदा हिजोका ती विजय बरालले मेहनत गर्न छोडेछन् जस्तो लाग्छ ।

केकी अधिकारी
एउटी पिडित दिदीको भूमिकामा अभिनेत्री केकीले राम्रो गरेकी छिन् । वावुको संर्घष हेरेर हुर्केकी शान्ति पात्रलाई केकीले राम्रो अभिनय शैली देखाएकी छिन् ।
केकी अधिकारी मायालु दिदी रनिरिह आइमाईको चरित्र निभाएकी छिन् ।

भोलाराज सापकोटा
रंगमञ्चका कलाकार भोलाराज सापकोटाले एउटा पिडित वावुको दुरुस्त स्वरुप चलचित्रमा देखाएका छन् । उनले संर्घषशील वुवाको चरित्रलाई दुरुस्तै देखाउने प्रयास गरेका छन् ।
कस्टुम डिजाइनर बोनिका कार्कीले उनको दुरुस्त कपडा छनौट गरिदिएकी छिन् । सञ्जता ढकालले चिन्तामणी पात्रलाई पर्दामा उतार्न सही दाह्री जुगा डिजाइन बनाएकी छिन् । उनलाई पुरेत्याई गर्ने बाहुन बनाउन डिजानरहरुको भूमिका पर्दामा देखिन्छ ।


मिरुना मगर
चलचित्रमा अभिनेत्री मिरुना छोटो भूमिकामा देखिन्छिन् । उनको अभिनय शैली र चरित्र चित्रण उस्तै छ । जुन अरु चलचित्रमा हेर्न पाइन्छ । उनको बोल्ने शैली पात्रको प्रस्तुती र हाउभाउ पनि फेरिएको देखिन्न । चलचित्रमा त्यो प्रभावहिन छोटो भूमिका जो कोही कलाकार भए पनि फरक पर्ने देखिन्न ।

चलचित्रमा कोरियन भाषा पढाउने रेअर राई,गौरव पहारी, कविता आलेजस्ता कलाकारहरुको अभिनयशैली र चरित्र चित्रणमा बदलाव भेटिन्न । उनीहरुको अभिनय हेर्दा लाग्छ पुराना कलाकारहरुको झारा टार्ने काम मात्रै भएको छ । वालकलाकार आरोश ढकाल,अंशु ओली र श्रृष्टि खड्गीको अभिनय पनि उल्येखनीय छैन ।

प्रविधि
डकुमेन्ट्री शैलीमा निर्माण गरिएको यस चलचित्रमा प्राविधिक पक्ष कमजोर देखिन्छ । पात्रहरको चरित्र निर्माणका लागि पासाङ तामाङको भेषभुसा,संजिता ढकालको केशसज्जा र प्रिया कार्कीको मेकअपको प्रभाव खासै देखिन्न ।
चलचित्रमा गीत संगीतको प्रभावकारी गीत संगीत छैन । त्यसैले कोरियोग्राफर सुनिल क्षेत्री छायाँमा पर्ने नै भए । सुप्रिम पराजुलीको रंग संयोजनको काम पर्दामा साखै देखिन्न ।


किरण महर्जन र रवि कपालीको पार्शसंगीत ठूलो स्वरमा बजाएर पनि हुनसक्छ, झर्कोलाग्दो छ । मयंक निरौलाको भिएफएक्स पनि चलचित्रमा देखिन्न । नबीन गुरुङ र कृष्ण परियारले राम्रो लेन्सबाट दृश्य खिचेको अनुभव हुन्न । विशेष गरेर अध्यारो दृश्यहरुमा अपार्चर क्षमता कमजोर भएको लेन्स प्रयोग गरेको अनुभव हुन्छ । भरत रेग्मीको सम्पादनमा खोल लगाउने ठाँउ छैन ।

अन्तमा,
चलचित्रले समाजको भाषा बोल्नुपर्छ । मान्छेका सप्तरंगी जीवन बोल्नुपर्छ । चलचित्र जनै हराएको मान्छेले नेपाली समाजका ब्राम्हण समुदायभित्र रहेका पात्रहरुको संस्कृती रितीरिवाजसँगै सम्बन्धका धागो देखाउन खोजेको छ ।
चलचित्रमा सम्बन्धहरुलाई बलियो रुपमा गइराईमा पुगेर देखाउन सकेको छैन । दुखान्तका कथालाई कटक्क मन खाने गरि चलचित्रको पर्दामा देखाउन थप मेहनत छैन । जुन चलचित्रमा यथेष्ट देखिन्न ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।