२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हरिबहादुर’ पात्रको रुपमा हास्यकलाकार हरिवंश आर्चाय ठूलो पर्दामा



काठमाडौँ
लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देखिने भएका छन् ।
केही समयअघि प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत हुँदैछन् । बुधबार चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै अभिनेता आचार्यले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताए । आचार्यले भने, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”
अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेखेका यस चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उनले भने ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने बताए ।
निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।
गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।