२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘धागो’ नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनको तयारीमा



काठमाडौं
पछिल्लो समय नेपाली चलचित्र नेपालसँगै भारतका हलहरुमा पनि प्रर्दशन सुरु भएको छ ।
यही क्रममा आउदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाली चलचित्र ‘धागो’ नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनको हुने भएको छ ।
उदिप राणा थापाले निर्देशन रहेको चलचित्रको शुक्रवार पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिती टुंगो लगाइएको हो ।

भारतको डुवर्सको चिया बगानमा जन्मे–हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी–फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ। यद्यपि फिचर चलचित्रको रूपमा भने ’धागो’ पहिलो हो।
निर्देशक उदिपले ’धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए। उनले भने, “मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ। ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु।“

यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। यसका अतिरिक्त बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गरेकी छन्।

चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ्ग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्याले योगदान दिएका छन्।

चलचित्रका सङ्गीतकार तथा गीतकार चर्चित गायक पुष्पन प्रधान हुन्। चलचित्रको शीर्ष गीतलाई भने मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन्।
गायक–गायिकामा पुष्पन प्रधान, आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश छेत्री, जुनु गौतम र रजिन सान्संकर रहेका छन्।

’धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्।

 

 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।