२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मुस्ताङगोल्ड वियरमा झिंगा भेटिएपछि काठमाडौँ महानगरद्वारा रु दुई लाख जरिवाना



काठमाडौँ
मुस्ताङगोल्ड वियरमा झिंगा भेटिएपछि काठमाडौँ महानगरद्वारा रु दुई लाख जरिवाना गरेको छ ।

चाडबाड नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु झिँगा फेला परेपछि भेटिएपछि उद्योगमाथि कारबाही गरी महानगरले रु दुई लाख जरिवाना तिराएको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा महानगरले कारबाहीस्वरुप जरिवाना तिराएको महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख न्यौपानेका अनुसार उपभोक्ताले गरेका गुनासोको आधारमा महानगरले अनुगमन गरेको थियो । विभागले उक्त मदिराको नमूना सङ्कलन गरी जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य वस्तु फेला परेको पुष्टि भएपछि महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार कारबाही र जरिवाना गरिएको हो ।

विभागका अनुसार, जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । महानगरले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको समेत जनाएको छ ।

महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन गर्दा ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ ।

महानगरले वडा नम्बर २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको चार रेस्टुराँ र एक मिठाई पसलको अनुगमन गर्दा अखाद्य तेल भेटेपछि नष्ट गरेको हो । टोलीले व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न निर्देशन समेत दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ साथै, सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन निर्देशनसमेत दिएको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।