ललितखबर/ललितपुर
आजकल हरेकजसो घरका युवा विदेशमा छन् । घुम्न र रमाइलो गर्न विदेश जानु त ठिकै हो । खाडीको मरुभूमिका श्रम गर्न जाने लर्कोसँगै पढेलेखेका युवाहरु देशबाटै पलायन भएर अमेरिका र युरोप भासिने क्रम बढ्दो छ । नेपाली समाजले भोग्दै आएको यतार्थवादी कथा र व्यथाउ उनेर बनाइएको चलचित्र कोशेढुंगाको भर्खरै प्रर्दशन सुरु भएको छ
चलचित्र भवनहरुमा अहिले नेपाली चलचित्रको बाढी छ । आधा दर्जन चलचित्रहरुको भीडमा सर्वकालीन व्लकबस्टर चलचित्र पूर्ण बहादुर सारंगीका निर्देशक सरोज पौडेलले निर्देशन गरेको चलचित्र कोशेढुंगा देशभित्र रोजगारीको कमी र वैदेशिक रोजगारीमा पाइने पिडालाई चित्रण गरिएको छ ।
कथासार
गाँउमा पढे लेखेको युवक मञ्जिल कुमार‘सञ्जोग’ गाँउ बस्न चाहन्छ । लोकसेवामा जागिर खाएर सुन्दरी युवती सुरक्षा पन्त शितलसँग जीवन विताउन चाहन्छ । लोक सेवामा फेल भएपछि उसले बाटो नै पाउदैन । अनि ऊ विदेश जान्छ । त्यहाँ उसले पाएको दुःख र कष्ट चलचित्रको मुल विषय हो । चलचित्रमा सञ्जोग र शितलसँग गाँउघरको रोमान्स र भिलेन चरित्र ‘धनविरे’सँगको लफडा पनि छ ।
कमजोरी
कथा प्रस्तुती र पात्रहरुको अभिनयशैली हेर्दा चलचित्रको स्तर टेलिचलचित्रभन्दा माथि उठेको छैन । चलचित्रमा दु ःखै दुखका कथा बुन्न खोजिएको छ । तर दृश्यहरु हल्ला फुल्का छन् । मन चसक्क भए पनि आँशु झर्दैन । दुखै दुःखका कथा व्यथा हेर्दा रुनकै लागि किन चलचित्र हेर्नु जस्तो लाग्छ । पूर्ण बहादुरका सारंगी निर्देशन गरेका निर्देशक सरोज पौडेलले दर्शक रुवाउन कथा बुनेको भान हुन्छ ।

चलचित्रमा तीज र तिहारको भैलेनी गीत देख्न सुन्न पाइन्छ । तीजको गीत रमाइलै भए पनि भैलिनीमा निन्द्रा लाग्ने खतरा छ । गीतमा नयाँपन छैन । झ्याउ मात्रै लाग्छ । कथामा थुप्रै प्रसंग किन राखिएको होला भन्ने लाग्छ । नीति शाह विमा पोलेसीका लागि गाँउ डुलेको किन होला यी दृश्यको कुनै अर्थ छैन ।
चलचित्रको कथा रोचक छैन । संवादले दर्शकलाई तान्दैन ।
निर्देशक समेत रहेका लेखक सरोज पौडेलले चलचित्रमार्फत दर्शकलाई शिक्षा दिएका छन् तर मनोरञ्जनात्मक क्षणहरु श्रृजना गरेका छैनन् । दुखद क्षणहरुमा तुरुक्क आँशु झर्ने ठाँउ भेटिन्न ।
देशभर व्याप्त वेरोजगारी र राजनीतिकरणलाई चलचित्रका लेखक तथा निर्देशकले हल्काफुल्का रुपमा प्रस्तुत गरेका छन् । कमजोर कथामा फितलो प्रस्तुतीले हलमा दर्शक निदाउने खतरा छ ।
चलचित्रमा सुरक्षासँग मञ्जिल कुमारको केमेष्ट्रि मिलेको छैन । नीति शाहको दिक्कलाग्दो अभिनय र चकलेटी हिरो आर्यन सिग्देलको झुम्रे स्वरुप सुवाएको छैन । दर्शकले अब के होला ? भन्ने परिस्थिती देख्न पाउदैनन् ।

सुन्दर पक्ष
च्लचित्रमा कमजोरी हुँदा हुँदै उठान गरेको विषयबस्तु भने असाध्यै गहकिलो छ । आजको समाजले भोगेको परिस्थिती र कष्टकर जीवनलाई दृश्यमार्फत देखाइएको छ ।
चलचित्रले नीति निर्माताहरुलाई पेचिलो ढंगले आजको परिस्थिती देखाइएको छ ।
चलचित्रको अन्तिम क्षण(क्लाइमेक्स)मा रुचिकर दृश्य छ । सशक्त अन्त्यसँगै चलचित्रले सिक्वेल बनाउन सजिलो परिस्थिती श्रृजना गरेको छ । परिस्थितीजन्य बाध्यतालाई चलचित्रको अन्तिम क्षणमा जोड्दा दर्शकको चित्त दुख्छ । जुन चलचित्रको सफलता मान्नुपर्छ ।
अभिनय
अभिनेत्री सुरक्षा पन्त चलचित्रमा नमूना अभिनेत्रीको रुपमा अभिनय गरेकी छिन् । चञ्चले स्वभाव भएकी शितल पात्रको भूमिका हेर्दा उनले सम्झनलायक अभिनय गरेकी छिन् । उनको नृत्य ज्यादै सुन्दर छ ।
आर्यन सिग्देल गोठालो ऋषिराम पात्रमा खासै जमेको देखिन्न । नयाँपन र अभिनय शिल्पमा कमजोर आर्यनको ठाँउमा जो कोही हुँदा पनि फरक पर्ने देखिन्न ।
हिरोको अनुहार नपरे पनि मञ्जिल कुमार ‘सञ्जोग’ले ठिकै अभिनय गरेका छन् ।
चलचित्रमा ऋचा शर्माको छेउ न टुप्पोको पात्रको भूमिका र नीति शाह ‘निलिमा’को उराठलाग्दो बोल्ने शैलीले चलचित्रलाई बोरलाग्दो बनाउन सघाएको छ । प्रविण खतिवडा ‘धनविरे’को आल्लारेपन र सरोज खनालको परम्परागत अभिनयलाई औसत मान्न सकिन्छ ।

कथा र कलात्मक पक्ष
कोशेढुंगामा कलात्मक पक्ष निर्देशक पौडेलले हाल्नै बिर्सेका छन् । कही कतै सुन्दर ठाँउहरुको दृश्यहरु समेटिएको पाइन्छ । कथाको लय पनि बिग्रेको छ । कथा दृश्यहरुमा सलल नबग्दा मन खिन्न हुन्छ । चलचित्रले भन्न खोजेको कुरा प्रष्ट छैन ।
चलचित्रको दृश्यभाषा पनि फितलो छ । क्यामेरा, प्राकृतिक आवाज र संगीतमार्फत कथा भन्न समय खर्चिएको छैन । पात्रहरुले चर्को स्वरमा चिच्याएर बोलेका छन् ।
ठाँउ ठाँउमा कथाले बाटो विराएको छ । निलिमा र ऋषिराम किन र के का लागि चलचित्रमा छन् ? बुझ्न कठीन छ । निलिमा गाँउ डुल्दै इन्सुरेन्समा जागिर खानुको कथा छेउ न पुच्छर लाग्छ । चलचित्रमा झलकमान गन्दर्भको सारंगीेसँग गाइएको ‘आमाले सोध्नि नि’ गीतले आँखाको डिलसम्म आँशु ल्याउदैन । निर्देशकले कथालाई संवेदनशील ढंगले अघि नबढाई दौढाएका छन् । मन छुने परिस्थिती नै भेटिन्न ।
प्रविधि
चलचित्र हेरिरहदा पोष्ट प्रोडक्सनमा मेहनत गरेको अनुभव हुन्न । प्रविधिको प्रयोगले चलचित्रलाई सुन्दर बनाएको छैन । सुप्रिम पराजुली रंग संयोजनको खासै अनुभव गर्न गर्न सकिन्न । उत्तम न्यौपानेको डविङ चर्चा गर्नलायक छैन । विनोद श्रेष्ठको श्रृगार र सन्ध्या रानाले छनोट गरेको भेषभूसाले पात्रहरुलाई नयाँ र राम्रो देखाउन सघाएको अनुभव हुन्न । पार्शसंगीतले दर्शकलाई कथामा भुल्ने अवस्था श्रृजना गर्दैन । क्यामेरा कमालको चर्चा गर्ने क्षणहरु कही कतै भेटिदैन ।
अन्तमा,
पारिवारिक कथामा बनेको चलचित्र कोशेढुंगाले समाजको यतार्थ भन्न खोजेको छ । चलचित्रले भन्न र देखाउन खोजेको परिस्थिती र कथाप्रतिको संवेदनशील नभए पनि कथामा श्रृजना गरिएको परिस्थितीले धेरै ठाँउमा दर्शकको मन छुन्छ । पुरुषवादी समाजमा महिलालाई पात्रलाई केन्द्रमा राखेर बनाइएको यो चलचित्रमा केही नौलो पनि नभएको भने होइन ।
चलचित्र भवनसम्म पुगेर किन र के का लागि हेर्ने भन्ने प्रश्नको उत्तर यस चलचित्रले दिएको छैन । वित्थामा रुनकै लागि बनाइएको जस्तो लाग्ने यो चलचित्रले बेदना भनेको छ । तर सम्बेदनालाई लुकाएको छ । ‘चलचित्र हेरेर रुनेहरुको भीड देखेर रुवाउने सिको गरे पनि मन छुँदैन । चित्त दुख्दैन । चलचित्र हेरिरहँदा लाग्छ मेहनत पुगेको छैन ।
यो चलचित्र हेरेर होइन । टिकट खर्चेकोमा रुन मन लाग्छ ।








प्रतिक्रिया