२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


१५१ स्थानमा सुपथ मूल्य पसल खुल्दै



काठमाडौं । सरकारले यो वर्ष पनि दशैं, तिहार र छठलगायतका चाडबाड लक्षित गरेर १ सय ५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

३० भदौदेखि देशैभरका १५१ स्थानहरूमार्फत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्युत रूपमा यी पसलहरू सञ्चालन गर्नेछन् ।

सुपथ मूल्य पसलबाट सहुलियत दरमा दैनिक उपभोग्य वस्तुहरू उपभोक्ताले किन्न पाउने सरकारले बताएको छ । यी पसलहरूमा नुन, तेल, चामलदेखि खसीलगायतका सामग्रीमा छुटको व्यवस्था हुनेछ ।

चामल, गहुँ, दाल र गेडागुडीलगायतमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ भने खाने तेल, आटा, पिठो र मैदालगायतमा प्रतिकिलो ७ रुपैयाँ सस्तो दिइनेछ ।

उपभोक्ताले यी सुपथ पसलहरूबाट जिउँदो खसी, बोका र च्याङ्ग्रामा भने प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, नुनमा प्रतिकिलो २ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ तथा चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ ।

यी सुपथ मूल्य पसलहरू सातै प्रदेशका विभिन्न ४५ जिल्लामा रहनेछन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४२ ठाउँमा र सबैभन्दा कम मधेस प्रदेशमा ३ ठाउँमा यस्ता पसलहरू सञ्चालनमा ल्याइनेछ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा २८ ठाउँमा, लुम्बिनी प्रदेशमा १५ ठाउँमा, कोशी प्रदेशमा ११, गण्डकी प्रदेशमा ७ र बागमती प्रदेशमा ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।