२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले विधान महाधिवेशनको रौनकः सातदोबाटोदेखि गोदावरीसम्मै ठाउँ ठाउँमा स्वागतद्धार



ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ब्यानर, फ्लेक्स, स्वागत गेट र झण्डामार्फत प्रचार–प्रसार गरिएको छ। बाग्मती प्रदेश कमिटी, ललितपुर जिल्ला कमिटी र मातहतका संरचनाले विभिन्न स्थानमा स्वागत गेट र झण्डा टाँसेका छन्। सातदोबाटो, बागडोल, बालकुमारी, नागढुंगा लगायतका प्रमुख नाकामा विशेष सजावटसहित स्वागत द्वार निर्माण गरिएको छ। भक्तपुरमा जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकाशेपुलमा पनि ब्यानर र झण्डा राखिएका छन्।

ललितपुर जिल्ला प्रचार कमिटी प्रमुख राजेन्द्र न्यौपानेका अनुसार महाधिवेशन स्थल प्रवेश गर्ने सातदोबाटो र गोदावरी क्षेत्रमा विशेष सजावट गरिएको छ। प्रेस चौतारी ललितपुरले प्रतिनिधि, पर्यवेक्षक र आगन्तुकलाई स्वागत गर्ने उद्देश्यले ठूलो ब्यानर राख्ने तयारी गरेको छ।

महाधिवेशनमा २,०३४ प्रतिनिधिसहित २,३४९ जना सहभागी हुने छन्। महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ रहेको छ। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। साथै, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि पेश गरिनेछ।

प्रतिनिधिहरूका लागि सनराइज हलमा डिजिटल प्रवेश प्रणाली मिलाइएको छ। क्युआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।