२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, तत्काल वक्यौता उठाउने



काठमाडौँ
नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् । मन्त्री घिसिङले तत्काल डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिएका छन् । उनी विद्युत् प्राधिकरणको जिम्मेवारीमा रहँदा डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउने र नउठाउने विवादका बीच बर्खास्तमा परेका थिए ।
पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताएका छन् ।
ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री घिसिङले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताएका छन् । अब निर्माणको अभियान सुरु भएको उल्लेख गर्दै उनले विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताएका छन्।
“नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो ।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे ।
आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन् । मन्त्रीले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।