काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी हुँदा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने आरोपलाई खण्डन गरेको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार पत्रकार सम्मेलनमार्फत आगो निभाउन समयमै दमकल परिचालन गरिएको दाबी गरेका छन्। उनले बताएअनुसार, सिंहदरबारमा २४ गते बेलुका सवा ८ बजे देखि नै दुईवटा दमकल पुगेका थिए।
“हामीले पहिले नै पठाउन खोजेका थियौँ तर न्यूरोडलगायत क्षेत्रमा आन्दोलन जारी हुँदा सुरक्षाका कारण तत्काल पठाउन नसकिएको हो। स्कर्टिङ गरेर पनि लैजान सकेनौँ। तर दमकल बेलुका नै पुर्याइसकेका थियौँ,” पाण्डेले भने।
सिंहदरबार र सर्वोच्च अदालतमा दमकल पठाउन खोज्दा सुरक्षाका कारण केहि ढिलाइ भए पनि, उनले पाँचवटा दमकल परिचालन गरिएको स्पष्ट पारे।
पाण्डेका अनुसार, काठमाडौँ महानगरपालिकाका दमकल २४ गते सवा ८ बजेबाट २६ गते बिहानसम्म निरन्तर रूपमा विभिन्न स्थानमा लागेको आगो निभाउन खटिएका थिए। साथै पानी फिलिङमा समय लाग्न नदिन, आवश्यक पानी ट्यांकरहरूको व्यवस्था गरी तत्काल आपूर्ति गरिएको उनले जानकारी दिए।








प्रतिक्रिया