काठमाडौँ । दशैं, तिहार र छठ जस्ता चाडपर्वको अवसरमा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख स्थलमा प्रहरीको ठूलो परिचालन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालका अनुसार उपत्यकामा ६ हजार १६ जना प्रहरी परिचालन गरिने व्यवस्था मिलाइएको छ। परिचालन हुने प्रहरीलाई विभिन्न क्लस्टरमा विभाजन गरी जिम्मेवारी तोकिएको छ।
प्रहरीले विगतमा चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट तथा अन्य अपराध बढ्ने गरेको अनुभवका आधारमा रणनीति तयार गरेको छ। प्रहरी प्रवक्ता खनालले चाडपर्वमा गाउँ जाने क्रममा घरहरू सुनसान हुने भएकाले चोरीको घटना बढ्ने सम्भावना रहेको उल्लेख गरे। साथै, हाल कारागारमा ७ हजारभन्दा बढी कैदी फरार भएको र हिरासतमा रहेका थुनुवाको कारण पनि सम्भावित अपराध बढ्न सक्ने आशंका गरिएको छ।
सुरक्षा योजना अनुसार पैदल गस्ती, साइकल गस्ती, नाकाहरूमा डग स्निफिङ, सादा पोशाकका प्रहरी परिचालन, सीआरभी तथा क्यूआरटी टोली तयारी अवस्थामा राखेर काम सुरु गरिएको छ।
किनमेल बढी हुने क्षेत्र, मल, सपिङ कम्प्लेक्स, बैंक तथा वित्तीय संस्थाहरूमा निगरानी गर्न सादा पोशाकका प्रहरी खटाइएको छ। उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागि १७ ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। टिकट कालोबजारी, महँगो भाडा, टिकट नपाउने समस्या जस्ता गुनासाहरू यी कक्षमार्फत समाधान गरिनेछ।
यसैगरी उपत्यकाका ७८ स्थानमा प्रहरी सहायता कक्ष खडा गरिएको छ। ड्रोन र सीसीटीभी मार्फत निगरानीको व्यवस्था पनि गरिएको छ।
सम्भावित अपराध र तयारी
चाडपर्वको अवसरमा लुटपाट, कुटपिट, चोरी, स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवा, अवैध मदिरा बिक्री वितरण, मदिरासम्बन्धी झगडा, ट्राफिक उल्लंघन, आगजनी, बिस्फोट, ड्रिंक एन्ड ड्राइभ, हिट एन्ड रन, ठगी, कालोबजारी, बन्द पसलमा चोरी, धार्मिक स्थल र किनमेल क्षेत्रमा पाकेटमारी आदि सम्भावित अपराधको रूपमा पहिचान गरिएको छ।
यी अपराधलाई रोक्न उपत्यकाका १८ वटै डीएसपीको कमान्डमा टोली गठन गरिएको छ। लङ रेन्ज, सर्ट रेन्ज, क्यूआरटी, मोबाइल गस्ती, सिल एन्ड सर्च, कर्डन सर्च, एम्बुसिङ चेकिङ लगायतका उपाय लागू गरिएको छ। नाकाहरूमा हरेक दिन कुकुर परिचालन गरेर सर्च अपरेसन गरिनेछ।
ड्रोन क्यामेरा र सीसीटीभी मार्फत निगरानी गरी कुनै घटना भएमा पाँच देखि दस मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था गरिएको छ।
प्रहरीले नागरिकलाई विशेष सावधानी अपनाउन र घर तथा पसल सुरक्षित राख्न अनुरोध गरेको छ।








प्रतिक्रिया