काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंमा टीकाको दिन पनि केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागले आज (असोज ११) दशैं विशेष मौसम बुलेटिन जारी गर्दै मनसुन वायुको प्रभाव रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
विभागका अनुसार अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६) को मौसमको विश्लेषण गर्दा दशमी अर्थात् टीकाको दिन पानी पर्ने सम्भावना बढी देखिएको छ। विशेष बुलेटिनमा उल्लेख छ, “बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यससँगै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुने सम्भावना छ।”
असोज १४ (अष्टमी) मा बागमती, गण्डकी र कोशी प्रदेशका केही पहाडी र तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। असोज १५ (नवमी) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा हुनसक्ने संभावना छ।
विभागका अनुसार अहिले मनसुन वायुको प्रभाव केही कमजोर भए पनि पूर्ण रूपमा बाहिरिएको छैन। नेपालमा मनसुन भित्रिने औसत मिति जून १३ र बाहिरिने मिति अक्टोबर २ हो। यस वर्ष भने मनसुन बाहिरिने औसत मितिसँगै टीका परेको छ।
जल तथा मौसम विज्ञान विभागले दशैंको समयमा विशेष सतर्कता अपनाउन र आवश्यक तयारी गर्न सबैमा आग्रह गरेको छ।








प्रतिक्रिया