२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा चाडपर्वमा छ हजारभन्दा धेरै प्रहरी परिचालन 



काठमाडौँ
चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १ सयभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार  सयभन्दा धेरै प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
“दसैँ, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन्” उनले भने ।
अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताएका छन् ।
यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको र ‘ड्रोन’बाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दसैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।
सम्भावित अपराध रोक्न तथा न्यूनीकरण गर्न काठमाडौँ उपत्यकाका १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको र कुनै पनि घटना भएमा कम्तीमा तत्काल घटनास्थलमा पुग्नेगरी व्यवस्था मिलाइएको एआइजी कार्कीले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ११ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।