१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेनजी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामाको माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले टंगालस्थित अख्तियार मुख्यालयमा लिखित निवेदन पेस गरेको छ।

यसअघि प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेका आन्दोलनकारीहरूले मंगलबार भौतिक रूपमा आयोगको कार्यालयमै उपस्थित भएर औपचारिक पत्र दर्ता गराएका हुन्। उनीहरूले प्रमुख आयुक्त राईको निष्पक्षता माथि गम्भीर प्रश्न उठाउँदै आयोगको नेतृत्वमा नयाँ, स्वतन्त्र र निष्पक्ष व्यक्तित्व ल्याउनुपर्ने माग गरेका छन्।

जेनजी मुभमेन्टका अनुसार अख्तियारमा दलका कार्यकर्ता खपाइएको र यसले भ्रष्टाचार अनुसन्धान निष्पक्षरूपमा हुन नसक्ने देखिएको छ। “हामी अख्तियार जस्तो संवैधानिक संस्थामा राजनीतिक हस्तक्षेप स्वीकार गर्न सक्दैनौं,” उनीहरूले पत्रमार्फत उल्लेख गरेका छन्।

निवेदन बुझाउने कार्यक्रमअघि नै टंगालस्थित अख्तियारको कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थित देखिएको थियो। सम्भावित प्रदर्शन र अप्रत्याशित गतिविधिको आकलन गर्दै सुरक्षाव्यवस्था कडा पारिएको हो।

जेनजी मुभमेन्टले आयोगले विश्वास गुमाइसकेको र भ्रष्टाचारजस्तो गम्भीर मुद्दामा जनताको पक्षमा काम गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको बताएको छ। “नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै हामी यस्तो संस्थामा सफा र जवाफदेही नेतृत्व चाहन्छौं,” अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।