२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो वर्ष भाइटीका ६ कात्तिकका दिन बिहान ११:३९ बजे लगाउने उत्तम साइत रहेको छ ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको संयोजनमा यो शुभ साइत निर्धारण गरिएको हो । उनले भने, “राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणले मध्याह्नकालमा लगाउँदा कुनै समस्या हुँदैन।”

यमपञ्चक १ कात्तिकदेखि सुरु

समितिद्वारा स्वीकृत पात्रोअनुसार यमपञ्चक १ कात्तिक (शनिबार) देखि सुरु हुनेछ । सो दिनदेखि यमदीपदान, धनत्रयोदशी र धनतेरस पर्व मनाइनेछ ।
२ कात्तिकमा काग तिहार र धन्वन्तरी जयन्ती, ३ कात्तिकमा कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ । समितिका अनुसार ३ कात्तिकको दिउँसो २:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले यसै दिन साँझ दीपमालिका र लक्ष्मीपूजा गर्नुपर्नेछ ।

औँसी तिथिमा गरिने स्नान र दान भने ४ कात्तिकको बिहान गर्नुपर्नेछ । सो दिन दिउँसो ४:२९ बजेसम्म औँसी तिथि रहनेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा ५ कात्तिकमा

शास्त्रीय वचनअनुसार गाई, गोरु र आत्म (म्ह) पूजा ५ कात्तिकका दिन गर्नुपर्नेछ । आत्म (म्ह) पूजा नेवार समुदायको विशेष परम्परा हो, जसमा आत्मपूजासँगै नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४६ पनि सुरु हुनेछ । समितिले स्वीकृति दिएको तीनवटै पञ्चाङ्ग—सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीद्वारा तयार गरिएको—नेवार समुदायकै पञ्चाङ्गमा पनि यही मिति उल्लेख गरिएको छ ।

भाइटीका र किजापूजा ६ कात्तिकमा

शास्त्रीय विधिअनुसार भाइपूजा (नेवारी भाषामा किजापूजा) पनि ६ कात्तिकमै मनाइनेछ । यस दिन दाजुभाइबीच स्नेह र दीर्घायुको कामना गर्दै टीकाटाला गरिन्छ ।

समितिका अनुसार शास्त्रीय ग्रन्थमा ‘भ्रातृपूजा’ भन्ने शब्द प्रयोग भएको छ, जसले दाजु र भाइ दुवैलाई जनाउँछ । त्यसैले ज्येष्ठको क्रमअनुसार टीका लगाउने चलन नै शास्त्रसम्मत मानिन्छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक (तिहार) पर्वमा परिवारका नाम उच्चारण गरी यमदीपदान गर्ने परम्परा छ । यमदीपदानले यमयातनाबाट मुक्ति पाइने र काग तथा कुकुरलाई मीठा परिकार दिएर यमलोकमा सहयोग पुग्ने विश्वास वैदिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।