काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटल तथा रेष्टुरेन्ट व्यवसायमा बिहीबार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ।
महानगरका अनुसार अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई स्वच्छ, सुरक्षित र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको हो। यद्यपि, चेतावनी दिँदै महानगरले निरन्तर अटेर गर्ने व्यवसायीमाथि कानुनअनुसार कारवाही गर्ने जनाएको छ।
अनुगमनका क्रममा विशेष गरी भान्छाको सरसफाइमा बेवास्ता गरिएको, म्याद गुज्रिएका वस्तु प्रयोग गरिएको, किट नियन्त्रणको व्यवस्था नगरेको, मास्क–एप्रोन–पञ्जा प्रयोग नगरेको, र डस्टबिनको बिर्को खुला राखिएको जस्ता कमजोरीहरू देखिएका छन्।
महानगरका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले सानो लापरबाहीले पनि संक्रमण फैलन सक्ने भएकाले सरसफाइमा ध्यान दिन व्यवसायीकै हित हुने बताए। “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो,” उनले भने।
त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले महानगरले सशक्तिकरण, अनुगमन र नियमनलाई प्राथमिकता दिएको बताए। उनका अनुसार, राम्रो गर्ने व्यवसायीलाई हौसला दिइने, कमजोरी देखिए सम्झाइने र चेतावनी दिइने तर अटेर गर्नेले कानुनअनुसार कारवाही भोग्नुपर्नेछ।
अनुगमन टोलीले पोखरेली लुम्बिनी तन्दुरी भोजनालय, सनराइज बेकरी क्याफे, अम्बला रेष्टुरेन्ट, सुरेन्द्र पानीपुरी पसल, के.एम. टेष्टी म:म होटेल, रेसुंगा लोकल भान्साघर र न्यु लुम्बिनी तन्दुरी भोजनालयलगायतका स्थानमा निरीक्षण गरेको थियो।
पोखरेली लुम्बिनी तन्दुरी भोजनालयमा सरसफाइमा पूर्ण बेवास्ता, म्याद गुज्रिएका वस्तु, मास्क–एप्रोन–पञ्जा प्रयोग नगर्ने, काँचो र पकाइएका वस्तु सँगै राख्ने जस्ता कमजोरी भेटिए। अम्बला रेष्टुरेन्टमा किट नियन्त्रणको अभाव, उच्च टीपीएम भएको तेल प्रयोग गरी बनाइएका खाद्य वस्तु नष्ट गरिएको थियो।
सुरेन्द्र पानीपुरी पसलमा खाद्य अनुज्ञापत्र विना बिक्री र मापदण्ड विपरीत झोल तयार गरिएको पाइएको छ। के.एम. टेष्टी म:म होटेलमा पनि सरसफाइ कमजोर, किरा भेटिएको र आगो नियन्त्रण उपकरण नभएको पाइएको छ।
रेसुंगा लोकल भान्साघर तुलनात्मक रूपमा व्यवस्थित पाइएको छ, जहाँ सरसफाइ र खाद्य भण्डारण प्रणाली अन्य व्यवसायभन्दा राम्रो रहेको टोलीले जनाएको छ।
महानगरले मापदण्ड विपरीत सञ्चालन भएका व्यवसायलाई सरसफाइ सुधार गर्न, मास्क–एप्रोन–पञ्जा अनिवार्य प्रयोग गर्न, व्यवसाय नवीकरण गर्न र फोहोर व्यवस्थापन सुधार गर्न निर्देशन दिएको छ। साथै, स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन भनिएको छ।
अनुगमन टोलीमा विभागीय प्रमुख नुरनिधि न्यौपाने, सल्लाहकार सन्तोष गिरी, फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुली, खाद्य अनुसन्धान अधिकृत दृष्टि ढकाल र सरोज पौडेल, तथा नगर प्रहरी सहायक निरीक्षक नमराज अधिकारीलगायत सहभागी थिए।








प्रतिक्रिया