काठमाडौं । अपहरण तथा शरीर बन्धक राख्ने गम्भीर अपराधमा संलग्न दुई भारतीय नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा भारतको पञ्जाब राज्य, चण्डीगढ सेक्टर–६५ फेस–११ महलीका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंह रहेका छन्।
उनीहरूले भारत हरियाणा राज्यका २६ वर्षीय अंकित कुमारलाई अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाई काठमाडौं बोलाएका थिए। तर काठमाडौं आइपुगेपछि अंकितलाई सुन्धारास्थित होटल न्यु जोमसोमको कोठा नं. ६ मा बन्धक बनाई भारतीय रुपैयाँ २० लाख फिरौती मागेको प्रहरीले जनाएको छ।
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको संयुक्त टोलीले होटलबाट पीडित अंकित कुमारलाई उद्धार गरी दुबै अपहरणकारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनामा प्रयोग भएका विभिन्न कम्पनीका चार वटा मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक राख्ने कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार अनुसन्धानपछि कानूनी कारबाही अघि बढाइनेछ।








प्रतिक्रिया