काठमाडौं । उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग हुने ब्रेथलाइजर मेसिनको अभावका कारण ट्राफिक प्रहरीले परीक्षण कार्य गर्न कठिनाइ भोग्न थालेको छ। गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण काठमाडौँका विभिन्न ट्राफिक प्रहरी पोस्टमा रहेका अधिकांश ब्रेथलाइजर मेसिन जलेर नष्ट भएका थिए। यसले हाल मापसे जाँच कार्यलाई प्रभावित पारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार, अहिले बाँकी रहेका सीमित मेसिनलाई विभिन्न क्षेत्रका ट्राफिक टोलीबीच ‘आलोपालो प्रणाली’ अनुसार प्रयोग गर्नुपरेको छ।
उनका अनुसार, “पहिले करिब तीन सय वटा ब्रेथलाइजर मेसिन रहेका थिए, तर हाल २७ वटा मात्र बाँकी छन्। सबै पोस्टमा एउटै समयमा परीक्षण गर्न नसक्ने भएकाले हामीले मेसिनको प्रयोग पालोपालो गर्दै आएका छौँ।”
यसैबीच, ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले पनि मेसिन अभावले नियमित मापसे निगरानीमा असर परेको बताए। उनले भने, “हामीसँग पहिले पर्याप्त मेसिन थिए, जसको प्रयोग गरेर दैनिक सयौँ सवारी चालकमा मादक पदार्थ सेवनको परीक्षण गरिन्थ्यो। तर आन्दोलनका क्रममा मेसिनहरू नष्ट भएपछि अहिले परीक्षणको दायरा घटेको छ।”
ट्राफिक प्रहरीले आवश्यक ब्रेथलाइजर मेसिन खरिदका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको र शीघ्र व्यवस्थापनका प्रयास भइरहेको जनाएको छ।
यसबीच, ट्राफिक प्रहरीले सवारी चालकहरूलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सडक सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ। अधिकारीहरूका अनुसार, मेसिन अभावका बाबजुद पनि मापसे नियन्त्रणका अन्य वैकल्पिक उपाय अपनाइरहेका छन्।








प्रतिक्रिया