२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारद्वारा जेनजी घाइतेलाई ४८ लाख रुपैयाँ राहत वितरण



काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि तत्काल खर्चबापत् ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक विवरणअनुसार, प्रत्येक घाइतेलाई २० हजार रुपैयाँ दरले भैपरी खर्च वितरण गरिएको हो।

पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ। हालसम्म स्वास्थ्य मन्त्रालयले २,४२९ जनाको विवरण गृह मन्त्रालयमा उपलब्ध गराइसकेको छ।

सरकारले घाइतेको पहिचान, उपचार र पुनःसुधारका लागि अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गरेको छ। यसका लागि निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको छ भने घाइतेलाई सहयोग गर्न ‘हटलाइन’ र सम्पर्क व्यक्तिहरू पनि तोकिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म रु एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भइसकेको छ। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयलाई घाइतेको उपचारमा कुनै कमी नपरोस् भन्ने निर्देशन दिएकी थिइन्।

मृतक परिवारलाई राहत

जेनजी आन्दोलनमा मृत्यु भएका ५३ परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा काजकिरिया खर्च पठाइएको छ। ४९ परिवारले रकम प्राप्त गरिसकेका छन् भने बाँकी चार परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई रु १० लाख आर्थिक सहायता र ५ लाख काजकिरिया तथा अन्य खर्च वितरण गर्ने निर्णय गरेको थियो। आन्दोलनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई राहत दिइने छैन।

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। जसमा नेपाल प्रहरी तीनसहित ५३ नेपाली नागरिकको पहिचान खुलेको छ। १२ जनाको पहिचान खुलिसकेको छैन भने १० जना कैदी सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका थिए।

सरकारले दमन र क्षतिको न्यायिक जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा आयोग गठन गरेको छ। आयोगले तीव्र गतिमा काम अघि बढाएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।