काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले अर्को व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङलाई पक्राउ गरिएको हो। हाल काठमाडौंको धुम्बाराहीमा बसोबास गर्दै आएका गुरुङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार तिहार बिदा भएकाले गुरुङको म्याद थप प्रक्रिया रोकिएको छ। बिदा सकिएपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
जेनजी आन्दोलनका क्रममा भएको घटनामा प्रहरी असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। सो घटनामा संलग्न भएको आरोपमा यसअघि दुई जना पक्राउ परेका थिए।
पक्राउ परेका दुई मध्ये काभ्रेको रोशी गाउँपालिका–९ राजबासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम उर्फ बुद्धिमान थिङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
यससँगै महाराजगञ्ज हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया