काठमाडौं । देशभरको प्रतिकूल मौसमका कारण मंगलबार हवाई उडानहरू प्रभावित भएका छन्। मौसममा आएको खराबीले भिजिबिलिटी कमजोर बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा ढिलाइ भएको हो।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (IFR) अन्तर्गतका उडान मात्रै भइरहेका छन्।
“केही उडान ढिलो भएका छन्, तर रद्द गर्नुपर्ने अवस्था भने आएको छैन,” पाण्डेले बताए। उनका अनुसार मौसम खराबीका कारण निश्चित हवाई रुटमा चाप बढेको छ।
अन्तर्राष्ट्रिय उडानहरू केही समयका लागि ‘होल्ड’मा राखिएका छन् भने हिमाली क्षेत्रतर्फका लुक्ला, सिमीकोटलगायतका विमानस्थलमा उडान सामान्य रूपमा प्रभावित भएका छन्।
मौसमविद्हरूका अनुसार अहिले देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा, साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको छ।
यसैबीच, काठमाडौं उपत्यकामा पनि बिहानैदेखि आकाश बद्ली र दृश्यता कमजोर रहेको छ, जसका कारण हवाई आवागमनमा असुविधा भइरहेको छ।








प्रतिक्रिया