काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्यामा पक्राउ परेका १९ वर्षीय अनुपम भण्डारी क्रिकेट सिक्दै आएको व्यक्ति रहेको खुलेको छ। भण्डारी कैलाली लम्मीचुहा नगरपालिका–४ घरका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनका अनुसार उनी भारतको बैंगलोरमा तीन महिनाअघि क्रिकेट प्रशिक्षण लिएर फर्केका थिए र जेनजी आन्दोलनको केही दिनअघि मात्र काठमाडौं आएका थिए।
भण्डारीले बयानमा बताए अनुसार २३ भदौको सुरक्षाकर्मी गोलीकाण्डपछि विद्यार्थीको मृत्युले आक्रोशित भएर उनी २४ भदौ आन्दोलनको क्रममा प्रहरीमाथि प्रहार गरेका थिए। प्रहरीले सार्वजनिक भिडिओको आधारमा भण्डारीलाई पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्दा घटनाको समयमा लगाएको कपडा पनि बरामद गरिएको थियो।
जेल खोलिएको कोटेश्वर प्रहरी प्रभागमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेपछि सहायक हवल्दार गुरुङलाई धारिलो हतियारले प्रहार गरी कुटपिट गरेर हत्या गरिएको थियो। प्रहारमा १३ जना प्रहरी घाइते भएका थिए।
जेनजी आन्दोलनमा हालसम्म ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको छ। गुरुङको परिवारमा उनका ७ महिनाको छोरा, श्रीमती र ६० वर्षीय बुवा रहेका छन्। घटना पछि परिवार मुख्य सहारा गुमाएको अवस्थामा छन्।








प्रतिक्रिया