काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण नेपालका केही क्षेत्रहरूमा भारी वर्षा हुने चेतावनी जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३) दिउँसोदेखि शनिबार (कात्तिक १५) बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशमा रहने छ। ‘मोन्था’ आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी उत्तरतर्फ सर्दै नेपालतर्फ आउँदैछ।
विभागले मध्यम वर्षा अधिकांश क्षेत्रमा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिएको छ। वर्षाका कारण विभिन्न नदीहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढेर सतर्कता तह नजिक पुग्नसक्ने देखिएको छ।
विशेषगरी काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी तथा कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको विभागले जनाएको छ। विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक तयारी गर्न आग्रह गरेको छ।









प्रतिक्रिया