२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिसडोल–बन्चरेडाँडामा फोहोर फाल्न पुनः अवरोध



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल–बन्चरेडाँडा ल्यान्डफिल साइटमा पुनः फोहोर लैजान अवरोध गरिएको छ । सिसडोल क्षेत्र आसपासका आठ वडाध्यक्षहरू आफैं सडकमा उत्रिएर फोहोर विसर्जन रोक्न पुगेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३, बेलकोटगढी नगरपालिकाका वडा नम्बर १, ३ र ४ तथा धादिङको धुनिबेसी नगरपालिकाका वडा नम्बर २ र ४ का वडाध्यक्षहरूले संयुक्त रूपमा सडक अवरोध गरेको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिए ।

उनका अनुसार, काठमाडौं उपत्यकाको फोहोरका कारण स्थानीयवासी वर्षौँदेखि दुर्गन्धमा बस्न बाध्य भएका छन्, तर सरकारले गरेको १८ बुँदे सहमति कार्यान्वयन नभएकाले अब उपत्यकाको फोहोर स्थायी रूपमा आउन नदिने निर्णय गरिएको हो ।

२०७९ साल जेठ २६ गते काठमाडौं महानगरपालिकासँग स्थानीय जनप्रतिनिधि र बासिन्दाबीच १८ बुँदे सहमति भएको थियो । सो सहमतिमा मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसहितका हस्ताक्षर थिए । त्यस अनुसार, महानगरले निश्चित समयसीमाभित्र प्रभावित क्षेत्रको भौतिक, सामाजिक र वातावरणीय सुधारका कार्य गर्ने प्रतिबद्धता जनाएको थियो । तर, स्थानीयका अनुसार ती प्रतिबद्धता अझै पनि कागजमै सीमित छन् ।

सहमतिअनुसार, फोहोरको दुर्गन्ध नियन्त्रण एक महिनाभित्र र लिच्चड खोलामा नपर्ने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने भनिएको थियो । साथै, फोहोर ढुवानीका क्रममा बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने, फोहोर विसर्जनस्थलसम्मको सडक मर्मत, पहिरो नियन्त्रण र पूर्वाधार निर्माण तीन महिनाभित्र सक्ने भनिएको थियो । तर, यी मध्ये कुनै पनि कार्य पूरा नभएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।