काठमाडौँ । प्रतिकूल मौसमका कारण नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पा का अनुसार, आन्तरिकतर्फ केही उडान डाइभर्ट भएका छन् भने भरतपुर र तुम्लिङटारका उडान बन्द गरिएको छ। पोखरा विमानस्थलमा आगमन बन्द छ भने डिपार्चर मात्र खुलेको छ।
काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवामा डाइभर्ट भएको छ। अन्तर्राष्ट्रिय उडानमा, नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। इन्डिगो एयरको जहाज पनि नयाँदिल्ली डाइभर्ट भएको छ भने एयर इन्डियाको विमान लखनऊ डाइभर्ट गरिएको छ।
विमानस्थलको वर्तमान भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको बताइएको छ। इनरुट वेदर बिग्रिएको कारण आन्तरिक उडानमा समेत समस्या आएको विमानस्थलले जनाएको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा का अनुसार, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ११ कात्तिकमा भारतको आन्द्र प्रदेशमा प्रवेश गरी नेपालतर्फ सर्दै छ। यसको प्रभावले बाग्मती, मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।








प्रतिक्रिया