काठमाडौं । बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि आइतबार बिहानदेखि कान्ति लोकपथमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार बिहान करिब ७ बजे सडकमा खसेको ढुंगा हटाएपछि आवागमन सहज भएको हो। केही बेर अघिदेखि नै सडकमा गाडी चल्न सुरु भएको उनले जानकारी दिए।
तर, लगातारको वर्षासँगै खसेको पहिरोका कारण कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड भने अझै अवरुद्ध छ। डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा सडक माथिबाट आएको पहिरोले बाटो बन्द गरेको हो।
सडकमा माटो र ढुंगा थुप्रिएको कारण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। हाल पहिरो पन्छाउने कार्य तीव्र रूपमा जारी रहेको बोगटीले बताए।








प्रतिक्रिया